काठमाडौं / सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।
त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइ मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।
मुस्ताङ्गमा हराइरहेको जहाजमा गोरखा शहिद लखन गाउँपालिकाका ४ जना यात्रु सवार रहेको पाइएको छ । सहिद लखन गाउँपालिका – ५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार सहित मुस्ताङ घुम्न गएको जानकारी आएको उहाँका छिमेकी बिजय पुडासैनीले जानकारी दिए ।
जेठी छोरी रोजिना र कान्छी छोरी रविना सहित भाउजू रश्मीलाई लिएर गणेश दाई पोखरा घुम्न जानू भएको रहेछ , त्यतैबाट मुस्ताङ गएकाे पुडासैनीले बताए । श्रेष्ठ परिवारका सबैको फोन अफ रहेको वडाध्यक्ष यमबहादुर रानाले जानकारी दिए ।
उहाँनीहरूले मुस्ताङ जान लागेको आफन्तलाई बताएका रहेछन् । दुबै छोरी केही साता अघिमात्रै अमेरिकाबाट नेपाल आएका हुन् । श्रेष्ठका आफन्तका अनुसार उनीहरु आज पोखराबाट मुस्ताङ्ग गएको जानकारी आएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् ।
मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।
‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,’ प्रवक्ता सिलवालले भने ।
काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । ‘उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ । थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलबाट गएको छ । थप खबर आउन बाँकी छ,’ उनले भने ।





















