काठमाडौं / पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ।
‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट संगठनका संस्थापक अध्यक्ष तथा इञ्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य पुरस्कृत भएका हुन्।
५० हजार राशिको २०७८ सालको उक्त पुरस्कार आचार्यलाई र २०७९ सालको पुरस्कार दाहाललाई प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए। अघिल्लो वर्ष कोरोनाका कारण पुरस्कार प्रदान गरिएको थिएन। वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कारबाट उक्त सेन्टरका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष बलराम थापा र पूर्वउपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ। थापालाई २०७८ सालको र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ।
प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गंगा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो। इच्छुकको २०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती पुरस्कार प्रदान गरे। उनले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले निर्वाह गरेको भूमिका उच्च र अतुलनीय रहेको बताए। सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको छ भने उनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपूरणीय क्षति पुर्याएको प्रचण्डले बताए।
सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रूपमा रहेको तर पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरे। राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भिकताका साथ उभिएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सेनले चलाएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको छ भने।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता जगतले कठिन परिस्थितिमा पनि समाज रूपान्तरणमा योगदान पुर्याउँदै आएको बताए। उनले प्रेस स्वतन्त्रता विरोधी कानून खारेज गर्न, आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारिताको विकासमा ध्यान दिन, आमसञ्चार नीतिलाई कार्यान्वयन गर्न र श्रमजीवी पत्रकारिता ऐनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे।
प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कृष्ण सेनले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए। -रासस





















