भरतपुर / भरतपुर महानगरपालिकाका केही वडा अध्यक्षहरुले पदभार ग्रहणसँगै नयाँ निर्णय गरेका छन् । भरतपुर महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष यमलाल कंडेलले बुधबार पदभार ग्रहण गर्दै नयाँ निर्णय गरेका छन् ।
अध्यक्ष कंडेलले भरतपुर ९ मा स्थायी रुपमा बसोबास गरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा एकमा पहिलो वर्ष भर्ना, स्टेशनरी र पोशाक निःशुल्क रुपमा दिने निर्णय गरेका छन् । छात्र–छात्रा दुवैजनालाई पहिलो वर्ष यस्तो व्यवस्था गर्ने पहिलो निर्णय गरिएको उनले बताए ।
पाँच दलिय गठबन्धनबाट वडा अध्यक्षमा निर्वाचित भएका कंडेल नेकपा एकीकृत समाजबादीसँग आबद्ध छन् । वडा अध्यक्षमा दोश्रो पटक निर्वाचित भएका कंडेल जनताका माझमा लोकप्रिय छन् ।
त्यसैगरी वडा नं ७ बाट दोश्रो पटक अध्यक्षमा निर्वाचित भएका राजेन्द्रमणि काफ्लेले पनि पदभार ग्रहणसँगै नयाँ निर्णय गरेका छन् । आफुले पाँच वर्षे कार्यकालमा पाउने तलव भत्तालाई जेष्ठ नागरिक, बालबालिका र खेलकुद क्षेत्रको विकासमा खर्च गर्ने घोषणा गरेका छन् । उनी पनि नेकपा(एस)सँग आबद्ध छन् ।
त्यसैगरी वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष जीवनाथ कंडेलले वडाका १०१ जना विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् ।
वडामा स्थायी बसोबास गरी नियमित औषधी सेवन गर्ने व्यक्तिहरुलाई पहिलो वर्ष निःशुल्क स्वास्थय बिमा गर्ने निर्णय गरेको कंडेलले चित्रवन न्यूज डट कमलाई जानकारी दिए । पाँच दलिय गठबन्धनबाट वडा अध्यक्षमा निर्वाचित भएका कंडेल नेपाली काँग्रेससँग आबद्ध छन् ।























