चितवन / स्थानीय तह निर्वाचनमा होमिन नेकपा एमालेका नेता विजय सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिए । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सुवेदी सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा होमिए ।
उनले भरतपुर महानरपालिकाको मेयरका लागि उम्मेदवारी दिए । एमालेले राप्रपासँग गठबन्धन गरेर सुवेदीलाई मेयरको उम्मेद्वार बनायो । तर उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालसँग भारी मतान्तरले पराजित भए ।
रेनुले उनलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरिन् । रेनुले ५२ हजार ३० मत प्राप्त गर्दा एमालेका विजय सुवेदी ३९ हजार ५ सय ८१ मतमा सीमित भए ।
एमालेको ‘कोर एरिया’ भनिएको वडाबाट पनि सुवेदीलाई राम्रो मत नआएपछि उनी पराजित हुन पुगे । एमालेबाटै सुवेदीलाई घात भएकोले जित निकाल्न मुस्किल परेको चर्चा पनि चल्न थालेको छ ।
उसो त राप्रपासँग गठबन्धन गर्दा पनि एमालेले गत ०७४ को स्थानीय तहमा देवी ज्ञवालीले ले प्रात गरेको भन्दा कम मत पायो । त्यस बेला ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । अहिले विजय ३९ हजार ५ सय ८१ मतमा सीमित भए ।
त्यसबेला पनि कांग्रेससँग गठबन्धन गरेर मेयरको उम्मेदवार बनेकी रेनुले २०३ मतले मुस्किलले जितेकी थिईन् । तर यस पटक राप्रपासँग गठबन्धन गर्दा पनि एमालेले महानगरको मेयरको पद सजिलै रेनुलाई सुम्पियो ।





















