चितवन / भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन्।
आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता समेत जनाएकी छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने नवनिर्वाचित मेयर दाहालको भनाइ छ।
आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले योगदानमा कमी आउन नदिई निराश नबनाउने बताइन्। गठबन्धनभित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरू इमान्दार देखिएको उनको तर्क छ। उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने बताइन्।
साथै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी भएका चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताए। भरतपुर महानगरको चौतर्फी विकासको लागि सोही नगरपालिकाको उपमेयरको रुपमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।





















