चितवन / स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि रेनु दाहाल नै निर्वाचित हुने सुनिश्चित भएको छ ।
११ हजार १७३ मत गन्न बाँकी रहँदा नै सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु फेरि मेयर बन्ने निश्चित भएको छ ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । जस मध्ये हालसम्म एक लाख १६ हजार ६६६ मतगणना भइसकेको छ ।
मेयरको दौडमा अग्रस्थानमा रहेकी रेनुको अग्रता अब गन्न बाँकी मत भन्दा बढी रहेको छ । रेनुले नेकपा एमालेका विजय सुवेदीभन्दा ११ हजार ४५७ मत बढी ल्याएकी छन् भन्ने गन्न बाँकी मत ११ हजार १७३ रहेको छ । यसर्थ रेनु गणना सकिनु अघि नै मेयर बन्ने पक्का भएको हो ।
एमाले राप्रपा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका एमालेका विजयले अहिलेसम्म ३५ हजार ५८३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् ।





















