चितवन / पत्रकार दीपेन्द्र अधिकारीले आफ्नो बिहेभोज खर्च कटाएर ‘कोरोना कोष’को लागि इच्छाकामना गाउँपालिकालाई नगद सहयोग गरेका छन्।
यही असार १४ गते विवाह बन्धनमा बाँधिएका पत्रकार अधिकारीले आइतबार श्रीमती सहित गाउँपालिका पुगेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई नगद एक लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।
पत्रकार अधिकारीले विवाह खर्च कटाएर कोरोना राहतको लागि सहयोग गरेको बताए।इच्छाकामना ३ का स्थायी घर भएका अधिकारी करिब डेढ दसकदेखि पत्रकारितामा क्रियाशील छन्।
पछिल्लो समय पत्रकारितासँगसँगै क्याम्पसमा अध्यापन गराउँदै आएका पत्रकार अधिकारीले लकडाउनकै समयमा विवाह गरेकाले विवाहमा हुने खर्च कोरोना कोषमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
सहयोग रकम ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले पत्रकारले सही सूचना संप्रेषण गर्नेमात्र नभई भइपरि आउँदा आर्थिक सहयोग पनि गर्न सक्छ भन्ने उदाहरण पेस गरेको बताए।





















