काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहलाई अधिकारसम्म तुल्याउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न चुनौती कायम रहेको बताउनुभएको छ ।
त्यसैले जनताले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न नसकेको उहाँको भनाइ छ ।
सोमवार एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले निर्वाचनलाई आफूहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएको पनि बताउनुभएको छ ।





















