काठमाडौं / प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताएका छन्।
विराटनगरमा काँग्रेसले गरेको चुनावी सभामा देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरेका छन्।
‘नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ। यो राष्ट्रिय आवश्यकताअनुसार बनेको हो,’ उनले भने, ‘गठबन्धनलाई धोका दिनुहुन्न, काँग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस्।’ देउवाले आफूहरू धोका खान तयार भएको तर कुनै पनि पार्टीलाई काँग्रेसले धोका नदिने बताए।
उनले काँग्रेसको चरित्र धोक दिने नभएको बताए। उनले सत्ता गठबन्धनमा कुनै पनि किसिमको शंका-उपशंका नगर्न पनि आग्रह गरे। ‘हाम्रो कर्तव्य पनि हो नि, काँग्रेस पार्टीले कसैलाई पनि धोका दिँदैन है ! नेपाली काँग्रेसले आफूले पटक पटक धोका पाएको पनि हो। तर, काँग्रेसले कसैलाई धोका दिँदैन,’ उनले भने। उनले स्थानीय सरकारलाई काम गर्न सक्ने गरी सक्षम बनाइनुपर्ने पनि बताए।
प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिइने पनि बताए। ‘हामीले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने भनेको हो, के गर्ने केपी ओलीजीले मान्नुभएन,’ उनले भने, ‘हामीले जित्यौं भने अब यो लागू हुन्छ।’





















