चितवन / विवेकशील साझा पार्टीबाट भरतपुर महानगरपालिकामा मेयर तथा उपमेयरका उमेदवारहरुले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् ।
आज उनीहरुले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी संकल्पपत्र सार्वजनिक गरेका हुन् । मेयरका उमेदवार प्रविन काफ्ले र उपमेयरकी उमेदवार पुष्पा सापकोटाले संयुक्तरुपमा संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
उनीहरुको संकल्पपत्रमा मूल ऐजेन्डा ८ वटा रहेका छन् । भरतपुर महानगरमा विवेकशील साझाका उमेदवारका संकल्पमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा प्रवाह, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा कार्यक्रम, शान्ति सुरक्षा, कृषि, पर्यटन, व्यापार, व्यवसाय रोजगारी प्रवद्र्धन, नारायणीको पानीजस्ता सग्लो र सफा भरतपुर र योजनाबद्ध पूर्वाधार विकास रहेका छन् ।
संकल्पपत्रमा दुई वर्षभित्र कुनै पनि सेवाग्राही कार्यालयमा आउनै नपर्ने गरी सबैकाम घरबाटै सम्पन्न हुने व्यवस्था मिलाइने, शिक्षाको बजेट व्यापकरुपमा बढाइने, विदेश पलायन हुने युवालाई रोक्ने गरी रोजगारको व्यवस्था गरिने, दीर्घरोगीको उपचारमा विशेष सहयोग रहने उल्लेख छ ।





















