चितवन / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा चितवन आइपुगेका छन् । देउवा आज (बुधबार) बेलुका बिराटनगरबाट सिधै आएका हुन् ।
देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन आइपुगेका छन् । भरतपुरमा बिहीबार सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी चितवन आएका हुन् ।
देउवा र पौडेल सहितको टिमलाई राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय सभाका सदस्य नारायण दाहाल, बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री, घनध्याम दाहाल कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, भरतपुर महानगरकी मेयर पदकी उम्मेदवार रेनु दाहाल लगायतले स्वागत गरेका थिए ।
केन्द्रीय बस टर्मिनल भरतपुरमा बिहीबार हुने चुनावी सभालाई देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस अघि देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ । प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।





















