चितवन / चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ । उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको छ ।
भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए … खान्छौ नेपाली ? तिमीहरुलाई चीनले … दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले डा. तिवारीमाथि सोधपुछ गरिने बताए । ‘उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा पनि चल्न सक्छ, अर्को राज्यविरुद्धको अपराध जस्तो पनि देखिन्छ,’ प्रहरी निरीक्षक भट्टले भने ।
विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए । डा. तिवारीले एमडी गरिसके पनि मेडिकल अफिसरमा काम गर्छन् ।
उनीबारे थप छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए । डा. तिवारीले भने, ‘मैले पनि उहाँको भिडियो हेरेँ, आपत्तिजनक कुरा बोल्नुभएको छ, एक नेपालीले बोल्न नहुने कुरा बोलेको देखिन्छ, अर्को कुरा चिकित्सक जस्तो ब्यक्तिले बोल्ने स्तर त्यस्तो हुँदैन ।’
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले उनलाई हटाउन सकिने बताए । ‘कोभिडको उपचारका लागि सहज होस् भनेर ल्याएका हौं, तर उहाँको अभिव्यक्ति खेदजनक छ,’ अध्यक्ष डा. अधिकारीले भने ।





















