भरतपुर / कालिका नगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका उम्मेदवारहरुको चुनावी घरदैलो तीव्र बनेको छ । सत्तागठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा, माओवादी केन्द्रबाट सविता लामा उपमेयरको उम्मेदवार हुन् । सोमबार पदमपुरका विभिन्न टोल तथा चोकहरुमा घरदैलो गरिएको छ ।
मेयर–उपमेयरका उम्मेदवार केसी र लामाले कालिका नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउने प्रतिवद्धता जनाएका छन् । मेयरका उम्मेदवार केसीले एक रुपैयाँ पनि घुस खाने र माग्ने काम जनप्रतिनिधि र कर्मचारीबाट हुन नदिने बताए । उपमेयरकी उम्मेदवार लामाले भ्रष्टाचार रहित पालिकाका रुपमा देशभर चिनाइने दाबी गरे ।
क्लव चोकमा आयोजित कोणसभामा कांग्रेस चितवनका निर्वतमान सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य विवेक डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । केसी ४७ सालदेखि पोल्ट्री क्षेत्रमा क्रियाशिल हुन् । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय अध्यक्ष, नेपाल दाना उद्योग संघका पूर्व केन्द्रीय सचिव, पोल्ट्री महासंघका पूर्व केन्द्रीय सचिव हुन् ।
कांग्रेसमा हाल उनी प्रदेश प्रतिनिधि हुन् । किसानका लागि उच्च प्राथमिकता राखेर कृषि, पशुपंक्षीपालनका युवाहरुलाई प्रेरित गर्ने योजनाहरु ल्याइने बताए । उपमेयरका उम्मेदवार लामा २०७४ मा पनि उपमेयरको उम्मेदवार हुन् । उनी पूर्वजनमुक्ति सेना हुन् । २०५८ देखि भूमिगत भएर उनी जनमुक्ति सेनामा लागेका थिए ।
२०६० मा जलवीरे झडपमा परी उहाँले श्रीमान सूर्यविक्रम थापालाई गुमाएकी छन् । उनी माओवादी केन्द्र कालिका नगर कमिटिको अध्यक्ष पनि हुन् ।
उनी ६ वर्ष शक्तिखोरको क्याण्टोमेण्टमा बसेकी छन् । जनमुक्ति सेनाबाट स्वेच्छिक अवकास लिएपछि संगठन विस्तार तथा निर्माण क्रियाशिल छन् ।





















