धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा महानगर र उपमहानगरको उम्मेदवारी भागबण्डाको टुंगोपछि देखिएको विवाद सामान्य भएको बताएका छन्।
बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग अध्यक्ष प्रचण्डले गठबन्धनभित्र भागबण्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने बताए।
उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे। ‘एउटै दलभित्र त टिकट नपाएपछि असन्तुष्टि हुन्छ भने पाँच दलको भाग मिलाउँदा केही असन्तुष्टि आउने कुरा सामान्य हो। त्यसलाई लोकतन्त्रको सुन्दरता पनि भन्न सकिन्छ, त्यो असन्तुष्टि केही दिनसम्म देखिन्छ, अनि सेलाइ हाल्छ,’ प्रचण्डले भने, ‘धेर थोर असन्तुष्टि आउनु स्वाभाविकै हो, त्यसले परिणाममा केही फरक पर्दैन।’
सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने उनले बताए। तालमेलको मर्म र भावनालाई आत्मसाथ गरे देशैभरि विजयी हुने विश्वास पनि उनले व्यक्त गरे।
उनले महानगर र उपमहानगर टुंगाएजस्तै सुदूरपश्चिममा पनि गठबन्धनले मूर्त रूप लिने आशामा रहेको बताए। प्रचण्डले सुदूरपश्चिममा अहिले माओवादी केन्द्रको संगठनमा सुधार आएको दाबी गरे।
उनले निर्वाचन सर्छ भनेर हल्ला चलाइएको कुरा झुटो भएको बताए। ‘मैले सुरुदेखि नै चुनाव सर्दैन भन्दै आएको हो, अहिले पनि केही तत्व चुनाव सर्छ भनेर हल्ला फैलाइरहेका छन्, तर चुनाव सर्दैन, वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ,’ उनले भने, ‘तर निर्वाचन व्यापक जनसहभागिता, निष्पक्ष र धाँधलीरहीत बनाउनुपर्छ। त्यसमा सबैले लाग्न आवश्यक छ।’





















