कैलाली / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्।
बिहीबार धनगढी पुगेका प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन्।
प्रचण्डले कहिँकतै (पालिकामा) गठबन्धनभित्र समस्या परेमा स्वस्थ्य र मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए। उनले महानगर र उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा तालमेल हुने उनले जानकारी गराए।
अध्यक्ष प्रचण्डले सुरुदेखि गठबन्धनले चुनाव सार्छ भन्ने कन्फ्युजन पार्न खोजिए पनि त्यो गलत भएको बताए। उनले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको दाबी गरे।
प्रचण्डले भने, ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन्।’ अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रुवीकरण देखिएको उनले बताए। प्रचण्डले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अङ्गकै रूपमा लिनुपर्ने बताए।





















