चितवन / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका दलहरु तर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लाग्ने बताएका छन् ।
आज बिहान चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गठबन्धनका तर्फबाट चुनावी तालमेलको खाका आज साँझसम्ममा तयार हुने र भोलि उम्मेदवारको टुंगो लाग्ने उल्लेख गरेका हुन् ।
गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।
भरतपुरमा चुनावी तालमेलको विषयलाई बाहिर जस्तो कुरा सुनिएपनि गठबन्धन भित्र कुनै विवाद नरहेको उनले प्रष्टयाए ।





















