चितवन / चितवनकाे भरतपुरमा साइक्लिङ म्याराथन हुने भएकाे छ ।
भरतपुर महानगरपालिकालाई साइकल सिटिको रुपमा विकास गर्ने उदेश्यले साइक्लिङ म्याराथन हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान र बागमति प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा ‘प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन – २०७८’ भोलि २६ चैत्रमा संचालन हुन लागेको हो ।

नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको विभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने छ । जसको दूरी ६५ किलोमिटर रहेको र प्रतियोगिले २ घण्टामा उक्त दुरी पुरा गर्ने प्रतियोगिताका संयोजक सन्त कुमार दरैले बताए ।
चितवन भौगोलिक हिसाबले साइकलको लागि उपयुक्त जिल्ला भएको बताउँदै प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खेल पर्यटन विकासको लागि पनि यो प्रतियोगिता महात्वपुर्ण हुने बताईन् । साईकल सिटीको रुपमा भरतपुरलाई विकास गर्ने गरी नगरभित्रको विकासको क्रममा साईकललेन लाई प्राथमिकता दिएको समेत उनलाई बताईन् ।

म्याराथनमा पाँच विधामा प्रतिस्पर्धा हुनेछ । इलिट मेन १९ प्लस , इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ग्रन्ड ५० प्लस र चितवन विशेष अन्तर्गत चितवन जिल्लाका मात्र महिला÷पुरुषको सहभागिता रहने छ । प्रतियोगिताका विजेता खेलाडीले मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार पाउने छन् ।
जस अन्तर्गत इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार छ । मास्टर मेन ग्रन्ड ५० प्लस तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ। चितवन विशेस अन्तर्गत महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिने छ ।
प्रतियोगिता उद्धघाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने छन् ।
प्रतियोगितामा माउन्टेन बाईक मात्रै प्रयाेग गर्न पाईने र सहभागीकाे बीमा समेत आयाेजकले गरिदिने बताईएकाे छ।





















