काठमाडौं / नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेगरी मात्रै चुनावी तालमेलको निर्णय लिन सत्ता गठबन्धनको ध्यानाकर्षण गराएका छन् ।गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छन् ।
चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।
भेटमा चितवनका नेताहरूले विगतमा माओवादीलाई मेयर दिएकोले यसपटक कांग्रेसले पाउनुपर्ने अन्यथा पार्टी संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । जवाफमा कांग्रेस वरिष्ठ नेतासमेत रहेका गठबन्धन संयोजक पौडेलले मागबारे गठबन्धनमा छलफल हुने बताए ।
तपाईंहरूको चासो मैले बुझेको छु । गठबन्धनमा यसबारे छलफल हुन्छ नै । सभापति र अरु नेताहरूलाई पनि भन्नुहोला’, पौडेलको भनाइ थियो ।चितवन कांग्रेसका सभापति राजेश्वर खनालले गठबन्धन र पार्टीको निर्णय स्वीकार गरेपनि भरतपुरको मेयर छाड्ने अवस्था नरहेको बताए । चितवनका कांग्रेस टोलीले सभापति शेरबहादुर देउवलाई पनि भेट्ने तयारी गरेको छ ।





















