चितवन / माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले पछिल्लो समय माडी नगरपालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति चितवनले माडीको खैरहनीस्थित माडी प्राङ्गारिक फार्मस्टेमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले विद्यालयमा शैक्षिक सुधार तथा स्वास्थ्य संस्थाहरुमा सेवा प्रवाहका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको हो ।

स्वास्थ्यको क्षेत्रमा माडीमा सुविधा सम्पन्न अस्पतालका लागि आन्तरिक स्रोतबाटै नयाँ भवन निर्माण भइरहेको र हाल १५ सैय्या रहेकोमा भवन निर्माणपछि ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने उहाँले जनाउनुभयो ।
विद्यालयका शैक्षिक सुधारका लागि विद्यालयमा उत्पादनसँगै सिकाईमा जोड दिइएको, उचित जनशक्ति व्यवस्थापन गरिएको, छोरी, बुहारी, दलित, अल्पसंख्यक र बिपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति तथा एमबीबीएस, ईञ्जिनियरिङ्ग र प्राविधिक शिक्षा पढ्नका लागि शैक्षिक ऋणको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
माडीका जनतालाई देशको कुनै पनि अस्पातालमा उपचारका क्रममा आवश्यक रगतको भुक्तानी नगरपालिकाले नै गर्ने गरेको, जेष्ठ नागरिक र गर्भवती महिलालाई अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको, विशेषज्ञ स्वास्थ्य सेवा प्रदान भइरहेको तथा हरेक वडाहरुबाटै आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको उहाँले जनाउनुभयो ।

साक्षात्कार कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्र, प्रदेश, जिल्ला र माडीका पदाधिकारीहरु सहित करीब ४० जना सञ्चारकर्मीहरु सहभागी रहेका थिए ।
सहभागीहरुले नेकपा (माओवादी केन्द्र)का माडी संगै चितवन र प्रदेश स्तरीय नेताहरुसंग छुट्टै भेट छलफल समेत गरेका थिए ।






















