काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
आइतबार माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच मेरियट होटलमा भेटवार्ता भएको हो।
भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ। भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत पनि सहभागी थिए। तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते नेपाल आएका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पछि चिनियाँ विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका हुन्।
गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए। साथै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले भेटवार्ता गरेका थिए।
चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री यी आइतबार स्वदेश फर्किएका हुन्। विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गरे।





















