काठमाडौं / नेपाल विद्युत प्राधिकरणले भारतसँग प्रतियुनिट नेपाली ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ ।
बिहीवार प्राधिकरणले पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्रमा विद्युत अभाव हुन नदिन महंगोमा भए पनि भारतसंग विद्युत खरिद सम्झौता गर्नुपरेको जनाएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै नेपाललाई दिंदै आएको विजुलीको मूल्य अस्वभाविक रुपमा बढाएको हो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विहीबार मध्यरात सवा १२ बजेदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताए । अघिल्लो वर्ष यही समयमा भारतबाट ८०० मेगावाट विजुली आयात हुँदै आएकोमा अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति नियमित गर्ने प्राधिकरणको रणनीति छ ।
केही दिन अघि मात्रै प्राधिकरणले विद्युत अभावको कारण देखाउँदै उद्योगहरुलाई दिँदै आएको बिजुलीको परिमाणमा कटौती गरेको थियो । भारतबाट विद्युत खरिदसंगै अब त्यसो समस्या हटेको प्राधिकरणले जनाएको छ ।





















