काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा धाउने गरेको आरोप लगाएका छन् ।
राजधानीको चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा राप्रपासंग साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको आरोप लगाएका हुन् ।
ओलीलाई दक्षिणपन्थी शक्तिको संज्ञा दिंदै नेपालले उनले विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालमेल मिलाउन खोजिरहेको जिकिर गरे । आफूहरु सच्चा वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै उनले त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने बताए ।
आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने सम्भावना बढ्दै गएको भँन्दै अध्यक्ष नेपालले आफूहरु कांग्रेस केन्द्रीय समिति बैठकको औपचारिक निर्णय कुरीरहेको बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति जनलहर बढेको दावी गर्दै स्थापनाको ६ महिनामै हलक्कै बढेको दावी गरे ।





















