जनकपुर / पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन्।
सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम आइपुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्।
‘अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन,’ उनले भने, ‘आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसको हातमा छ।’
प्रचण्डले हामीले गठबन्धनलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा छौं तर काँग्रेसभित्र तालमेलको विषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो काँग्रेसकै भूमिकामा निर्भर हुने बताए।
‘स्थानीय तहको निर्वाचनमा काँग्रेस तालमेल गर्न तयार भए आफूहरू पनि तयार छौं, तर काँग्रेसले गर्न चाहेन भन्ने हामी पनि आफ्नै तरिकाले चुनावमा जान्छौं,’ उनले भने, ‘त्यसैले कसरी जाने भन्ने कुरा काँग्रेसकै हातमा छ।’
हामी आफ्नै खुट्टामा उभिएर चुनावी परिणाम ल्याउने गरी तयारी गरिरहेको उनको भनाइ छ।
अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने विषयमा गठबन्धनभित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिँदै सत्तासाझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताए।
‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रूपमा टुंगिएको छैन,’ उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ।’
उनले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक र रेलसम्बन्धी विधेयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिए। -रासस





















