काठमाडौं / बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ।
पटकपटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको हो। क्यानले ति सात वायु सेवा कम्पनीबाट ९ करोड १७ लाख रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ ।
प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न ताकेता गर्दै २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो। प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आउन भनिएको छ।
यदि बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ।
“प्राधिकरणले असुल गर्नुपर्ने रकम नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ वमोजिम सरकारी वाँकी सरह प्राधिकरणले असुल उपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित छ ।
विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० (३) अनुसार प्राधिकरणलाई बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरुलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसंग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने अधिकार प्राधिकरणमा रहेको छ,” प्राधिकरणले भनेको छ, “प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको वाँकी बक्यौता रकम उल्लेखित वायुसेवा कम्पनीहरुले प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाण्डौको जम्मा गरी सक्कल भौचर यस प्राधिकरणको प्रधान कार्यालय, अर्थ विभागमा बुझाई बक्यौता रकम फरफारक गर्न योसूचना प्रकाशित गरिएको छ ।”





















