धनगढी / सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमामा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो ।
मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए । खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकमार्फत गोल गर्दै मनाङको खाता खोलेका थिए । ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।
खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
उपाधिसँगै मनाङले २१ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद पुरस्कार प्राप्त ग¥यो ।





















