काठमाडौं / नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठक सकिएको छ। शुक्रवारदेखि सुरु भएको दोस्रो पूर्ण बैठक छलफलका लागि एजेण्डा पास गर्दै आईतबार ११ बजे पुन बस्नेगरि आज स्थगित भएको हो।
शुक्रवार राष्ट्रिय सभा गृहमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी अनुमोदन लगायतको विषय रिपोर्टिङ गरेका थिए।
प्रचण्डको ब्रिफिङपछि नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो। माओवादी केन्द्रका नेता लिलामणी पोखरेलका अनुसार अध्यक्ष प्रचण्डको ब्रिफिङ र नेता श्रेष्ठको सम्बोधनसँगै छलफलका एजेण्डा अनुमोदन गर्दै आजको बैठक समापन भएको छ।
उनले अर्को बैठक आइतबार बस्ने जानकारी दिए। अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका थिए।
आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने नेता पोखरेलले बताए। छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन्।
पार्टीमा छलफलका लागि एमसीसीसँग संगठनात्मक कामबारे पनि एजेण्डा तय गरिएको छ। जसअन्तर्गत केन्द्रीय समितिमा थप गर्नेबारे, पदाधिकारी चयन, स्थायी र पोलिटब्यूरो गठन गर्ने विषय पनि समावेश गरिएको छ।
नेताहरूको कार्य विभाजन, स्थानीय तहको निर्वाचनलगायत विविध विषयमा छलफल गर्ने गरी एजेण्ड तय भएको र आजको बैठकले उक्त एजेण्डा पास गरेको उनले बताए।





















