काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने भएका छन् ।
शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशाला गौशालामा आयोजना गरेको नि:शूल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफ्नो तलव दिने घोषणा गरेका हुन् ।
मारवाडी सेवा समितिले नेपाली दु:खी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने बताए ।
उनले भने, “मारवाडी सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिने छु, सोमबार सम्म उक्त रकमको चेक हस्तान्तरण गर्ने छु ।”





















