काठमाडौं / नागरिकलाई सहज रूपमा सिटामोल उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
देशभर सिटामोलको हाहाकार भइरहेका बेला अधिवक्ता टीका बहादुर कुँवर सहितले दायर गरेको रिट निवेदन माथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकलाई सिटामोल र प्यारासिटामोल जस्ता औषधी उपलब्ध गराउन भनेको हो।
सिटामोल जस्तो औषधि नहुँदा जनताको स्वास्थ्यको अधिकारमा असर हुँदा कोभिडका बेला त्यसतर्फ सचेत हुन आदेशमा भनिएको छ। आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ।
आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारको लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र प्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरू बिच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोल लगायतका औषधीहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरूको नाउँमा यो आदेश जारी गरिदिएको छ।’
सर्वोच्चले औषधि उपलब्धताको स्थितिको विवरणसहित माघ १७ गते छलफलका लागि उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ।





















