काठमाडौं / नेकपा माओवादी केन्द्रले माघ २७ मा केन्द्रीय समिति बैठक बोलाएको छ। अध्यक्ष र केन्द्रीय सदस्यमात्रै चयन गरेको माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको हो।
यसअघि ८ माघमा डाकिएको बैठक स्थगित भएको थियो। बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्ने बताइएको छ। माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले दिएको जानकारीअनुसार, पार्टीका पदाधिकारी चयनको एजेण्डा टुंगो लगाउने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।
हालै सम्पन्न पार्टीको महाधिवेशनले केन्द्रीय कमिटी चयन गरेको थियो भने त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी चयन गर्न बाँकी छ। यस्तै बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन पनि गर्ने जनाइएको छ।
अध्यक्ष प्रचण्डले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौंमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका छन्।





















