काठमाडौं / श्रमजीवि पत्रकारहरुलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरुले कामबाट निकाल्ने, बेतलबि बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति विरोध गर्दै पत्रकारहरु आन्दोलित भएका छन ।
श्रमजिवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तराष्ट्रिय श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्म विरुद्ध मिडिया मालिकहरुले गरिरहेको गतिविधिको विरोधमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन ।
कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिक रुपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारहरुको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारहरुले त्यस्ता मिडिया मालिकहरुलाई आन्दोलनको माध्यमबाट तह लगाउने बताए ।
गत शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकहरुलाई श्रमजीवी पत्रकारहरुलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकहरुले मागको सुनुवाई नगरेकाले आजबाट पुनः आन्दोलन अघि बढाइएको हो ।
मिडिया हाउसहरुसँग श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासंघको टिमले गरेको छलफलको पहिलो चरणको प्रयासबाट समाधानको संकेत नदेखिएको कारण आज पुन पत्रकारहरु मिडिया हाउसको गेटमै पुगेर कालो ब्यानर टासेर माग कार्यान्वयनको लागि चेतावनी दिएका छन ।
‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर । पेशागत सुरक्षाको ग्यारेण्टी गर ।’ लेखिएको कालो ब्यानरमा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समिति सह -संयोजकसमेत रहेका जैसीले कुनैपनि हालतमा श्रमजीवी पत्रकारहरुलाई काममा फकाउँने र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण गराउन राज्य र सम्बन्धीत पक्षलाई चेतावनी दिए ।
उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मन मर्जि निकाल्ने हर्कत महासंघलाई अमान्य हुने र त्यसका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरुका जायज मागको सम्बोधन नभएमा महासंघ मिडिया हाउसले कल्पना नगेको ढंगको आन्दोलन अघि बढाउने भन्दै उनले कडा चेतावनी दिएका थिए ।
उक्त कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको लागि राज्यले समेत जिम्मेवार बन्नुपर्ने धारणा राखे । अध्यक्ष राउतले महासंघको आन्दोलनमा पेशागत संघ, संगठनहरुलाई पनि जोड्दै माग पुरा गराउन व्यापक दवावमूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा क्रान्तिकरी पत्रकार संगठनका नेता कमल बुढाले मिडिया हाउसले सृजना गरेको श्रमजीवी पत्रकारहरुको समस्यालाई तत्काल हल गर्न स्वयम मिडिया मालिकहरु तयार हुनुपर्ने र त्यसो नभएमा आन्दोलनको स्वरुप बदलिने भन्दै कडा चेतावनी दिएका थिए ।
उनले पत्रकार महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको तर्फबाट एक्यवद्धता जाहेर गर्दै पत्रकारहरुलाई बिनासर्त काममा फर्कने वातावरण नबन्दासम्म चरणबद्ध आन्दोलनको घोषणा गरेर अघि बढ्नुपर्ने विचार समेत राखे ।
प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले मिडिया मालिकहरुले आफुलाई आवश्यक पर्दा विभिन्न सेवा, सुविधा सहितको नियुक्ति पत्र दिएर पत्रकारहरुलाई भित्र्याउने र मन नलागेमा आफैले दिएको नियुक्ति पत्रको अपमान गरेर पत्रकारहरुलाई हटाउने काम गैह्र जिम्मेवार तथा अमान्य रहेको भन्दै त्यस्ता मिडिया मालिकहरुलाई कार्बाही गर्नुपर्ने तर्क गरे ।
अध्यक्ष जैसीले श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक समितिको निर्णय, अन्तराष्ट्रिय श्रम संगठन, श्रम कानुन र राज्यका अन्य कानुनहरुको खिलाफमा मुलुककै ठूला भनिएका मिडिया हाउसहरु उभिनुले कानुनी राज्यको समेत अपमान गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन लगायतका विभिन्न संघ संगठनहरुको ऐेक्यबद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासंघले बताएको छ ।
























