चितवन / भरतपुर महानगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । पहिलो जननिर्वाचित स्थानीय सरकारका प्रतिनिधिका रूपमा करिब साढे चार वर्ष पूरा भएको छ।
अहिलेका प्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो ।नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७८ र ०७९ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षा गरेकी थिइन् ।
महानगर प्रमुख दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर”भन्ने अवधारणा एवं दीर्घकालीन सोचका साथ महानगरको विकास र जनताको सेवामा निरन्तर अघि बढिरहेको उनको भनाइ छ । भरतपुर महानगरले हालसम्म नौ वटा नगरसभा सम्पन्न गरिसकेको छ ।

यस अवधिमा उपलब्ध स्रोत साधनको सीमाभित्र रहेर केही महत्वाकाङ्क्षी तथा रुपान्तरणकारी योजनाहरु सम्पन्न भइसकेको छ । कतिपय योजनाहरु सम्पन्न हुने चरणमा रहेको छ।
महानगर प्रमुख दाहालले नीति तथा कार्यक्रममा करिब साढे चार वर्षको अवधिमा सम्पन्न भएका र थालनी भएका महत्वपूर्ण परियोजना अघि सारेकी थिइन् । भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओपिडि टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेर सुरु गरिएको महानगरको समृद्धिको यात्रामा देशकै रुपान्तरणकारी आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, सडक सञ्जाल विस्तार गर्ने रिङ रोड र लिङ्क रोड, सार्वजनिक निजी साझेदारीमा निर्माण हुने मेट्रो प्लाजाको शुरुवातसम्म आइपुग्दा पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, सुशासन, आन्तरिक आय लगायत हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएका महानगर प्रमुख दाहालले बताइन् ।
उनले महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको र परिणाम स्वरुप साढे ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको बताइन् ।
संघीयसरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकैसबभन्दा लामो ८८.६ किमीको महानगरीय रिङरोड रु ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भई सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ किमि निर्माणको लागि स्रोत सुनिश्चितताको पहल भइरहेको छ । साथै ५२ किमि लिंक रोडको काम निर्माणाधीन अवस्थामा रहेको छ।
महानगर प्रमुख दाहालका अनुसार पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि रु१ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ भएको ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ। यसैगरी हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी (पिपिइ) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ। भरतपुर महानगरपालिका,विरोक एन्ड कम्पनी र स्थानीय सरकार सवलीकरणको संयुक्त प्रयासमा पालिका स्तरमा सार्वजनिक(निजी परियोजना कार्यान्वयनका लागि परियोजना विकास निर्देशिकातयार पारी २०७८ मंसिर १६ गते सार्वजनिक गरिएको छ।
महानगर प्रमुख दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै विकासमा निजी क्षेत्रलाई सँगसँगै भन्ने अवधारणाको उदाहरणीय नमुना प्रस्तुत गर्न सफल भएको बताइन् ।





















