काठमाडौं / जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए ।
“जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन”, उनले भने, “राष्ट्रियरअन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो पार्टी फुट्यो भन्ने निउँमा यसरी महिनौँसम्म बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो ।
प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउन लोकतन्त्र कमजोर हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले छिटोभन्दा छिटो प्रतिपक्षले संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए।
एमालेको अवरोध कायम रहे अन्तर्राष्ट्रिय परम्परा र संसदीय मर्यादानुसार संसद्लाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।





















