काठमाडौँ / नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा भव्य समारोहका बीच जारी रहेको छ ।
शुक्रबार भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा नेकपाल माओवादीका अध्यक्ष (प्रचण्ड) पुष्प कमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिएका छन् ।
महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् ।
समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिहरु उपस्थित छन् ।
रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी भएका छन् ।
पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।
एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो ।
एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन । एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।
त्यस्तै कांग्रेस महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललगायतका नेता पनि सहभागी भएका छन् ।





















