काठमाडौं / नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले आफु पार्टीको महामन्त्री हुने या नहुने थाहा नभएको बताएका छन् ।
उनले आफु महामन्त्री भए पनि नभएपनि अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्ने बताएका छन् ।
बिहीबार दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन ।
पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु ।’
थापाले भने, ‘आजका दिनसम्म मेरो कोही उम्मेदवार छैन । तर मेरो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने छु ।
‘ १४ औँ महाधिवेशनमा नेतृत्व मात्र चयन हुने भएकाले आफू महामन्त्री भएर गर्ने काम अवधारणा पत्र ल्याएको बताए ।





















