काठमाडौं / नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) सर्वसम्मत चयन भएका छन् ।
चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । सोही १८४ जनाले अध्यक्ष सहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले बताए । त्यसअघि महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।
अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेका बेला नेतृत्वका विषयमा सहमति जुटेको हो ।
केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारीका बीच अध्यक्षका दाबेदारमध्यकै एक गोविन्द रोका (सचिन)ले छाडेपछि सापकोटाको नाममा सहमति भएको हो । र रोकाकै प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुटेको छैन् । महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ । र अध्यक्षमा सापकोटा निर्वाचित भएका छन् ।
प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।





















