चितवन / नेपाल कम्युनिष्ट पाटी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अघिल्लो सरकारले ल्याएको पत्रकारिता जगतलाई अंकुस ऐन खारेज गरिने बताएका छन् ।
शनिबार चितवनमा नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले पत्रकारितालाई अंकुस लगाउने ऐन अहिलेको गठबन्धनको सरकारले खारेज गर्ने बताएका हुन् ।

“बिगतमा सरकारले कही न कही प्रेस जगतलाई अंकुस लगाउने ऐन बनाएको छ । त्यो खारेज गरिने छ । म तपाइहरुलाई विश्वास दिलाउन चाहन्छु । “
अघिल्लो सरकारले ल्याएको ऐनलाई निरन्तरता नदिने बारे गठबन्धनमा छलफल सुरु भईसकेको उनले बताए ।
यस बिषयमा प्रधानमन्त्रीसँग पनि छलफल भईसकेको उनले बताए । पत्रकार बलियो भए लोकतन्त्र बलियो हुने र यसले समाजबादको आधार तयार पार्ने भन्दै यसका लागि अन्तिमसम्म लडाई लडिरहने उनको भनाई थियो ।
पत्रकारले इमान्दारिता, सकृयता र जिम्मेवार भई जनचेतना अभिवृद्धि गर्दै प्रतिगमनविरुद्ध आक्रमक ढङ्गले अघि बढ्नु पर्नेमा उनको जोड थियो ।
उनले प्रतिगामिले गठबन्धनको सरकारलाई कमजोर बनाउने खेल खेलिरहेकोले पत्रकारहरु अझै चनाखो हुन आग्रह गरे ।
पत्रकारले सरकारका कामका बिषयमा सकारात्मक र नकारात्मक टिप्पणी गर्दै प्रतिगमन बिरोधी गतिधिलाई उजागर गर्नु पर्ने उनको भनाई थियो ।





















