अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् ।
आइतवार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताए । “यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।”–उनले भने । देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै शर्माले हरेक निर्णय गठबन्धनबाटै हुने जानकारी दिए ।
सरकार विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन लागिरहेको उनको भनाइ थियो ।
फरक शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको जवाफ दिए । धुर्मुस–सुन्तली फाउन्डेसनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
“थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु ।”, शर्माले भने–“मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”





















