चितवन / नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको नाम सुनेर धेरै नेताहरुको होस गुम भइसकेको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा चितवनले शुक्रवार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले भने,“एकीकृत समाजवादीको नाम सुन्दा कतिपय पार्टी तथा नेताहरुको होस गुम भइसकेको छ ।
हाम्रो नाम सुन्नासाथ उनीहरु छुलुलु हुन्छन् । पसीना छुट्छन् । अरु के के छुट्नुपर्ने सवै छुट्छन् ।”
नेकपा एमालेलाई लक्षित गर्दै आफ्नो पार्टी नयाँ भनेर कम नआँक्न उनले सुझाव दिए । केहिदिन अघि चितवन आएका केपी शर्मा ओलीले गठवन्धनलाई धोवीले लुगा पछारेझैँ पछार्ने भनी दिएको अभिव्यक्तिलाई जोड्दै नेता नेपालले कसले कसलाई पछार्यो भन्ने परिणाम राष्ट्रिय सभाको चुनावले देखाइसकेको बताए ।
उनले भने,“कसले कसलाई पछार्यो त्यो राष्ट्रिय सभाको चुनावले देखाइसक्यो । अव आउने चुनावहरुमा पनि यसले प्रष्ट पार्नेछ । ”
एकीकृत समाजवादीले एक स्थान पनि जित्दैन भन्ने कुरा निराधार भएको उनले बताए । अवको चुनावमा एकीकृत समाजवादीले अन्य दलहरुसँगै उम्मेदवारी दिने र उनीहरुलाई नै जितेर देखाइदिने उनको दावी थियो ।
नेता नेपालले पाँच दलिय गठवन्धन बलियो रुपमा रहेको बताउँदै आगामी सवै तहको निर्वाचन सम्म गठवन्धन जारी रहने बताए । केपी ओलीले नेतृत्व गरेको पार्टी नेकपा एमाले इतिहास बनिसकेको भन्दै हराइसकेको पार्टी कसरी जन्मियो हामीलाई अवैध भन्नेहरुलाई सोध्नुहोस भन्दै धेरै टिप्पणी नगर्ने बताए ।
नेता नेपालले न्यायालयको विवाद पनि चाँडै समाधान हुने बताए । अहिले गठवन्धनमा छलफल भएर प्रधानमन्त्रीले समेत चासो व्यक्त गरेकाले चाँडै विवाद समाधान हुन्छ, उनले भने ।
समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा चिवतनका अध्यक्ष टिकादत्त तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामु आचार्यले सहजीकरण गरेका थिए ।





















