चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पनि चितवनबाटै उठ्ने बताएका छन्। शुक्रबार भरतपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई अन्योलमा नपर्न आग्रह गरे।
उनले भने, ‘हल्ला चलेको छ, एमालेले १० औं महाधिवेशन चितवनमा गरेर प्रचण्डलाई तर्साउने भयो अब चितवनबाट उठ्दैन भनेका छन्, तर म भाग्नेवाला होइन यहीँबाट उठ्छु। मलाई जिन्दगीको अन्तिम क्षणसम्म छलाङ हान्न मन छ। प्रतिगमनकारी विरुद्ध लड्ने नै हो।’
एमालेले बुटवलमा गर्ने तय भएको महाधिवेशन माओवादी र प्रचण्डलाई केन्द्रित गरेर चितवनमा गर्नु भनेको आफूलाई विजयी बनाउन सुरु गरेको प्रचण्डले बताए। आगामी निर्वाचनबाट ओली प्रवृतिलाई पत्तासाप बनाउने प्रचण्डले दाबी गरे ।
हिजोको राजा महाराजा र ओली मिलेर प्रतिगमनको नेतृत्व गरेको प्रचण्डको टिप्पणी छ। उनले अब ओली प्रवृतिसँग लाखौं जनताको साथमा लोकतान्त्रिक पक्षधर र माओवादी केन्द्रले लड्नुपर्ने बेला आएको वताए। प्रचण्डले माओवादीलाई पत्तासाप बनाउँछु भन्ने सपना नदेख्न चेतावनी समेत दिए।





















