चितवन / जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गाैलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् ।
मिर्गाैलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको मिर्गाैला रोग सचेतना कार्यक्रममा सहभागी पीडितले यस्तो गुनासो गरेका हुन ।
अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मिर्गाैला पीडितले मृत्युवरण गर्नुपर्ने उनीहरुको गुनासो थियो ।
समाजका सचिव जीवनाथ पराजुलीले निजी अस्पतालमा मिर्गाैलाको उपचार महँगो हुने र सरकारी अस्पतालमा पालो कुर्नुपर्ने बाध्यताका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने समय आएको बताउनुभयो ।
उहाँले गुनासो गर्नुभयो, “सरकारीमा पालो पाइदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन् ।” साउनयता निजी अस्पतालले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका बिरामीको निःशुल्क डायलासिस हुने भए पनि निजी अस्पतालमा यो सेवा एक पटकमा रु १० हजारसम्म खर्च हुने भएकाले महँगो भएको उहाँको गुनासो थियो ।





















