दशैंका बेला बजारमा फलफूलको कृत्रिम मूल्यबृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन् । दशैंका अवसरमा हुने पूजा आजाको प्रसाद तथा टीका थाप्न जाँदा कोसेलीका रुपमा फलफूलको माग अत्यधिक बढ्ने गर्छ ।
तर यही बेला मौकाको फाइदा उठाउँदै ब्यापारीहरुले फलफूलको मनलाग्दी बढाएको उपभोक्ताहरुको गुनासो छ । दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । काठमाडौं का विभिन्न स्थानमा फलफूल किन्ने क्रममा महंगो मूल्य तिर्न बाध्य भएको बताएका छन् ।
चाबहिल , कालीमाटी, बानेश्वर, कोटेश्वर लगायतका स्थानमा फलफूलको मूल्य अस्वाभाविक बढी लिएको उनीहरुको गुनासो छ ।
एउटै फलफूलको मूल्य पनि सबै ठाउँमा समान नभएको भन्दै उपभोक्ताले सरकारले चाडबाडका बेला बजार अनुगमन नगरेको गुनासो गरेका छन् । एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरूको गुनासो छ ।
सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरू बताउँछन् ।
फलफूल व्यापारीहरु भने यसपटक चीनबाट पर्याप्त फलफूल नआउँदा केही महंगो भएको तर्क गर्छन् । ब्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र चीनबाट आयात ठप्प हुँदा भारतीय बजारमा मात्र निर्भर हुनुपरेको उनीहरुको भनाइ छ । विगतमा रसुवा हुँदै चिनियाँ फलफूल आउने गरेपनि यसपटकको चाडबाडमा आउन सकेको छैन ।
उपभोक्ता अधिकारकर्मीहरु भने चाडबाडमा अनुगमन बढाउनु पर्नेमा सरकारी निकाय झन निष्कृय भईदिंदा उपभोक्ता महंगो मूल्य तिर्न बाध्य भएको आरोप लगाउँछन् ।





















