काठमाडौं / काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।
आज जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल र त्रिवी शिक्षण अस्प्तालको प्रयोगशालामा परीक्षण गर्दा उपत्यकामा ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार आज उपत्यकाको काठमाडौंका २७, ललितपुरका २ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या १ सय ८४ पुगेको छ ।
आज २९३ जनाको पीसीआर पोजिटिभ
नेपालमा आइतबार २ सय ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । देशका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप . सय ३२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
योसँगै सङ्क्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ । त्यस्तै आज १ सय ३२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।





















