काठमाडौं / सरकारले रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ। प्रतिस्थापन विधेयकमार्फत् रासायनिक मल खरिद गर्न सरकारले तीन अर्ब बजेट थप गरेको हो।
अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए। अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरी उक्त रकम विनियोजन भएको उनले बताए।
बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको छ।केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।
१२ अर्ब रुपैयाँमा अहिलेको बजार मूल्यअनुसार तीन लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
बढेको रकमबाट थप एक लाख १५ हजार मेट्रिकटन भन्दा धेरै मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए। यस वर्ष कुल १५ अर्ब बजेटबाट सवा चार लाख मेट्रिकटन मल खरिद गरिने उनले बताए।
१२ अर्ब रुपैयाँ बराबरको तीन लाख मेट्रिकटन मल खरिदका लागि प्रक्रिया अघि बढीसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।





















