काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना नै सकिएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए ।
‘सभामुखले छलफलजारी राख्नु भएको छ । निष्कर्ष केही निस्केको छैन । प्रमुख विपक्षी दलको नेताबिना यो बैठकको औचित्य भएन’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने ।
त्यस्तै जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमालेबिनाको छलफल कुनै निष्कर्ष नभई सकिएको बताइन् । ‘संसद् एमालेको हो एमालेले कुनै हठको भरमा, लिँडे कुरामा लाग्नु हुँदैन’ उनले भनिन्, ‘संसद् बैठक सञ्चालनका लागि एमालेले वातावरण बनाउनु पर्छ । संसद् भनेको प्रतिपक्षीको हो । अझै एमाले त प्रमुख प्रतिपक्षी पनि हो ।’
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए।





















