काठमाडौं / नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ रहने भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए।
वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि परिवारलाई कांग्रेसमा विरासत परिवारको रूपमा लिइन्छ।
महाधिवेशन लक्षित बिहीबारको पौडेल समूहको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी भएका हुन्।
निधि परिवारका विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेकाले पौडल समूहलाई सो समूहको साथ नरहने भएको छ।
तर, कोइराला र सिंह परिवारको भने साथ रहने बिहीबारको पत्रकार सम्मेलनमार्फत स्पष्ट भएको हो।
बिहीबार कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारका प्रकाशमान सिंहलाई दायाँ बायाँ राखेर रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गरेका हुन्।
त्यस्तै महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए।
१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन्।
गत महाधिवेशनमा उनी डा।शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका थिए । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठेका थिए । केसी पनि अहिले पौडेल समूहमै रहेका छन्।
आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन्। अब पौडेल समूहमा केसी, थापा र कोइराला सँगै भएका छन्।





















