काठमाडौं / नेपाल विद्युत प्राधिकरणमा दोस्रो कार्यकाल शुरू गरेका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशक र प्रबन्धकहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन्।
१०/११ तहका प्रबन्धकरनिर्देशकहरुको जिम्मेवारी हेरफेर गर्दा अधिकांशलाई थप जिम्मेवारी समेत तोकिएको छ। केहीलाई भने सरुवा मात्रै गरिएको छ।
११ औ तहका निर्देशकहरु मध्ये चन्द्रशेखर चौधरीलाई प्रदेश नम्बर २ को प्रादेशिक कार्यालयबाट प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ। निर्देशक राजन ढकाललाई वृहत् प्रसारणलाइन आयोजनाहरुको आयोजना प्रमुखबाट प्रदेश नम्बर १ प्रादेशिक कार्यालय विराटनगरमा सरुवा गरिएको छ।
निर्देशक नवराज ओझालाई आयोजना व्यवस्थापन निर्देशनालाय अन्तर्गतको चमेलिया-अत्तरिया १३२ केभी प्रसारणलाइन आयोजनाबाट लुम्बीनी प्रदेश प्रादेशिक कार्यालयमा सरुवा गरिएको छ।
१० औं तहका प्रबन्धकहरुमध्ये जगदीशचन्द्र जोशीलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखबाट कार्यकारी निर्देशकको सचिवालयको प्रमुखमा सरुवा गरिएको छ।
























