चितवन / बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा नियुक्त भएका चितवनका नेता कृष्णप्रसाद खनाललाई रत्ननगरमा स्वागत गर्दै बधाई दिइएको छ ।
रत्ननगर नगरपालिकाले कार्यक्रमको आयोजना गरी मन्त्री खनाललाई कार्यकालको सफलताको लागि बधाई दिएको हो ।
कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडीले टोपी र दोसल्ला, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले खादा लगाइदिएर स्वागत तथा बधाई दिएका हुन । सो अबसरमा मन्त्री खनालले जनस्तरबाट बनेको रत्ननगर अस्पताल र जिल्ला आयुर्वेदिक अस्पतालको विकासको लागि ध्यान केन्द्रित गर्ने बताए ।
रत्ननगर अस्पताललाई नमुना बनाउने र रत्ननगरमा रहेको जिल्ला आयुर्वेदिक अस्पताललाई रत्ननगरमै स्थापित गर्न आफुले भूमिका खेल्ने उनको भनाई छ । उनले विकास र बजेट विनियोजनलाई विबेकपूर्ण तरिकाले अगाडि बढाउने बताए । समानुपातिक तरिकाले बजेट वितरण गरेर प्राथमिकताका आधारमा विकासका कामहरुलाई अगाडि बढाउने मन्त्री खनालले बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडी,जिल्ला आयुर्वेदिक अस्पतालका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए ।





















