चितवन / नारायणगढको शहिदचोकमा रहेको जनता कृषि सहकारी संस्थाले ग्राहकबाट उठाएको पैसा दुरुपयोग गरेको पाइएको छ ।
कृषि सहकारीका नामबाट खोलिएको सहकारी संस्थालाई अवैध कारोबारमा संलग्नहरुले आफू अनुकुल प्रयोग गरेको पाइएको हो । पछिल्लो समय चर्चामा रहेको अवैध मोबाइल कारोबारमा सहकारी संस्थालाई समेत प्रयोग गरिएको आरोप लागेको छ ।
नारायणगढको ‘ए एण्ड के’ मोबाइलका सञ्चालक अर्जुन शर्मा भनिने अर्जुन ढकाल करिब एक करोड बराबरको अवैध मोबाइलसहित पक्राउ परेपछि सहकारीको गतिबिधि सार्वजनिक भएको हो । सो जनता कृषि सहकारी संस्थाको उपाध्यक्षमा स्वयम शर्मा रहेका छन् ।
उनले आफ्नै बुबा होमनाथ ढकाललाई सहकारीको अध्यक्ष बनाएर सहकारीको पैसा आफू अनुकुल प्रयोग गर्दै आएका थिए ।
सहकारीका अध्यक्ष रहेका होमनाथ ढकालले आफूलाई सहकारीको सम्बन्धमा केही जानकारी नभएको बताए । उनले भने, ‘मलाई अध्यक्ष बनाइदिएका छन् । कहिलेकाहीँ मिटिङ्गमा जाने गरेको छु । आवश्यक परेको खण्डमा हस्ताक्षर गर्ने गरेको छु ।’
शर्माले सहकारीलाई आफू अनुकुल प्रयोग गर्नका लागि सहकारी सम्बन्धि धेरै जानकारी नभएका आफ्नै बुवालाई अध्यक्ष बनाएको सहकारीका एक सदस्यले बताए ।
सहकारीमा आफू अनुकुल कारोबार गर्नकै लागि शर्माले आफ्नो मोबाइल पसल ‘ए एण्ड के’ र सहकारीमा एउटै एकाउण्टेन्टलाई काम लगाउने गरेको ती सदस्यले बताए । ‘एउटै एकाउण्टेन्टले दुई तिर काम गर्छ । कारोबार गोप्य राखिन्छ । मोबाइल पसलका लागि सहकारी प्रयोग गरेर अवैध लाभ लिइएको रहेछ ।’
सहकारीमा शर्माले आफू अनुकुल कर्मचारी र व्यवस्थापनमा मान्छे राखेर अन्य कुरा गोप्य राख्ने गरेका थिए । सहकारीका अर्का एक सदस्यले सहकारीले लिने र प्रदान गर्ने ब्याजका सम्बन्धमा समेत सेयर सदस्यहरुलाई जानकारी नदिने गरेको बताए ।
‘मैले कतिपटक ब्याजदरका विषयमा कुरा निकालेँ । तर आलटाल गर्न खोजियो’ उनले भने । तोरण सुवेदीले नाम कृषि सहकारी भए पनि सहकारीले कृषि सम्बन्धी कुनै काम नगर्ने र ऋण तथा बचतको काम मात्र गर्ने बताए ।
२० जनाबाट सुरु गरिएको सहकारीमा अहिले ९ सय सानाठूला सेयर सदस्य रहेका छन् । सहकारी संस्थाका संस्थापक अध्यक्ष शिव शर्मा आचार्यले यस अगाडि नै राजीनामा दिएको बताउँदै सहकारीसँग अहिले आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।





















