काठमाडौं / इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा इटाली र अष्ट्रियाले निर्धारित ९० मिनेटमा गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
जसमा इटाली भाग्यमानी सावित भयो। अतिरिक्त समयमा इटालीले वैकल्पिक खेलाडीको मद्दतमा २–१ को जित निकाल्यो। खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएको थियो। तर, अष्ट्रेलियाका डिफेन्डरको चुनौति पन्छ्याउन नसक्दा खेलमा अग्रता लिन सकेको थिएन।
दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो।
९५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडरिको चिइसाले अष्ट्रियाका डिफेन्डरलाई करिब ६ यार्डबाट बिट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो। उनी खेलको ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए। उनको यो जारी प्रतियोगितमा पहिलो गोल हो।
१०४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारे। यस्तै, १०५औं मिनेटमा माटियो पेसीनाले इटालीको अग्रता दोब्बर बनाए। उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए।
उनी ६७औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए। उनको यो गोल जारी प्रतियोगितामा दोस्रो हो। यसअगाडी उनले समूह चरणमा वेल्सविरुद्ध गोल गरेका थिए।
१०६औं मिनेटमा डोनारुम्माले राम्रो बचाउ गर्दै इटालीको अग्रता जोगाए। उनले लुइस स्वाउबले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए।
यस्तै, खेलको ११४औं मिनेटमा अष्ट्रेलियाका सासा कालाजजिकले सान्त्वना गोल गरे। लुइस स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासाले निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरे। यससँगै इटालीले लगातार ११ खेलमा गोल नखाएको कीर्तिमानमा पुर्णविराम लागेको छ।
त्यसअगाडी १७औं मिनेटमा निकोलो बारेल्लाको प्रहारलाई गोलरक्षक ड्यानीएल ब्याकमानले खुट्टाले बचाएका थिए।
त्यसको दुई मिनेटपछि नै बारेल्लाको प्रहारलाई डिफेन्डर हिन्टरेगरले छेक्दै गोलको खतरा टारे। ३२औं मिनेटमा इटालीका चिरो इम्मोबिलेले झन्डै २७ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो।
३६औं मिनेटमा डेविड अलाबाको फ्रिकिक क्लियर गरेपछि आएको अवसरलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहजै बचाएका थिए।
यस्तै,६५औं मिनेटमा अष्ट्रियाका मार्को अर्नाउटोभिचले गोल गरेका थिए। लाइनरको क्रसलाई अलाबाले हेडर गरेपछि फार पोस्टमा अर्नाउटोभिचले पोस्टको दिशा दिएका थिए। तर, भिडिओ असिस्टेन्ट रेफ्री ९भीएआर०ले अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइड भन्दै गोलको मान्यता दिएन।
८२औं मिनेटमा स्पिनाजोलाको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बेरार्डीको एक्रोब्याटिक प्रहारले दिशा लिन सकेन।
यस खेलको विजेताले आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ। उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ।





















