काठमाडौं / घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सिरिजअन्तर्गत लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पार्न सफल भएको छ ।
१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’ टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।





















